नेपालमा नारी दिवस औपचारिक रुपमा मनाउन थालिएको ५९ बर्ष भयो । यो अवधिलाई केलाउँदा नेपालमा महिलाका दुईटा तस्वीर देखा पर्छन् ।
पहिलो तस्वीर हो, विभेदको । अझै पनि महिलाहरु बलात्कृत भइरहेका छन्, छाउपडी गोठमा ज्यान गुमाईरहेका छन्, बोक्सीको आरोपमा मलमुत्र ख्वाइने घटना अझै हुँदैछन्, छोरा नपाएको र दाइजो नल्याइएको निहुँमा हुने घटना बारम्बार दोहोरिइरहेका छन् ।
त्यस्तै अर्को तस्वीर छ, प्रतिनिधित्वको । राष्ट्रपति र सभामुख जस्ता उच्च ओहदाका राजकीय पदहरुमा महिला छन् । महिला नै प्रधानन्यायाधिस पनि भइसकेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहका तिनवटै सरकार र संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत भन्दा बढी छ ।
काठमाडौ उपत्यकामा १७ बर्षदेखि टेम्पु चलाइरहनु भएका एक महिला आज हाम्रो अतिथी हुनुहुन्छ । राजधानीको जञ्जागोल सडकमा १७ बर्ष टेम्पु चलाउँदा उहाँले यो शहर र यहाँका मान्छेलाई कसरी चिन्नुभयो ? महिला भएर सार्वजनिक सवारी चलाउँदा उहाँले कति दुःख हण्डर खेप्नुभयो ? हरेक बर्ष आउने नारी दिवसले उहाँजस्ता व्यक्तिको जीवनमा के महत्व राख्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज म सँग हुनुहुन्छ टेम्पो चालक कृष्णमाया बुलुन ।