२०४७ सालको परिवर्तन पछि झण्डै २७ बर्ष दलहरुबीच संसदमा सत्ता परिवर्तनका निकृष्ट खेलहरु भए । बाम गठबन्धनले बुहमत ल्याए पांच बर्ष स्थिर सरकार र पार्टी एकतासम्म गर्ने घोषणालाई जनताले विश्वास गरे र संघीय संसददेखि ६ वटै प्रदेशमा बुहमत दिलाए । त्यही बुहमतको बलमा त्यसबेलाका एमाले र माओवादी केन्द्रको गठबन्धन एकिकरण भएर एउटै पार्टी बन्यो – नेकपा । तर चुनाव सकिएको दुई बर्ष नपुग्दै नेकपा अहिले आफ्नै आन्तरिक अस्थिरताको भूमरीमा रुमल्लिन थालेको छ । आफ्नै पार्टीको सरकार र नेताविरुद्ध घात गर्ने खेल सुरु भएको छ ।
नेकपाका नेताहरुबीच किन आन्तरिक किचलो बढीरहेको छ ? स्थिर सरकार दिन्छौ भन्ने पार्टीका नेताहरुबाटै किन अस्थिर खालका गतिविधि भइरहेका छन् ? चुनाव हारेका व्यक्तिलाई किन खोजीखोजी संसदमा छिराउने प्रयास गरिदैछ ? संविधान नै संशोधन गरेर निर्वाचनमा पराजित कुनै व्यक्तिलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने सम्मको प्रयास किन भएको थियो ? सरकार र पार्टी सञ्चालन दुबैमा नेकपाको नेतृत्व असफल हुदै गएको हो ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुजी पन्त ।